थ्री लभर्सलाई पिजी सर्टिफिकेट


 आगामी शुक्रबार अर्थात मंसिर २२ गते रिलिज हुन लागेको  फिल्म 'थ्री लभर्स' लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार अन्तिम पटक फिल्म हेरे पश्चात केहि सिन र संवाद समेत हटाउन लगाउँदै सेन्सर बोर्डले पिजी सर्टिफिकेटका साथ प्रदर्शनको अनुमती दिएको हो ।

फिल्म सेन्सर भए पश्चात फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरेश दर्पण पोखरेलले पछिल्लो समय आएका केहि भल्गर फिल्मको शिकार आफ्नो फिल्म भएको बताए । उनले भने, 'मेरो फिल्ममा कुनै आपत्ति नहुने सिनमा पनि बोर्डले आपत्ति जनाउँदा निकै अचम्म लाग्यो । मलाई लाग्छ यो सबै पछिल्लो समय आएका केहि भल्गर फिल्मको परिणाम हो ।' फिल्मको कथाबस्तु र प्रस्तुती नबुझी सेन्सर गर्ने सदस्यहरू प्रति व्ययङ्ग हान्दै पोखरेलले भने, 'अब त गुन्यू चोली लगाएर डोको बोकी भिरपाखामा गीत गाउँदै हिड्ने खालको फिल्म मात्र बनाउनु पर्ने भयो ।'

पहिलो पटक फिल्म हेर्दा सेन्सर बोर्डले नायिका प्रियंका कार्की सहित केहि मोडलहरूले लगाएको पहिरनमा आपत्ति जनाएको थियो । पछि सेन्सरका सदस्यहरूसँग छलफल गरेर उनीहरू फिल्ममा राखिएको र्‍याम्प सिन नहटाउने सहमतीमा आएको निर्देशकले बताए । 'फिल्ममा प्रस्तुत गरिएको र्‍याम्प सिनमा भन्दा छोटो पहिरन लगाएका महिलाहरू बिभिन्न खाले ट्यालेन्ट शो तथा फेसन शोहरूमा दर्शकहरूले अवलोकन गरिरहेका हुन्छन्' ,निर्देशक पोखरेलले भने । उनले फिल्ममा राखिएको एउटा बेड सिन र किस सिनलाई भने छोट्याउन सेन्सरले आग्रह गरेको र आफूहरू सहमतीमा आएको बताए ।


प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहेको रोमान्टिक प्रेमकथामा आधारित यो सस्पेन्स फिल्म देशभरका अधिकांश हलमा लाग्नेछ । फिल्मलाई थ्री ब्रदर्श क्रियशनले निर्माण गरेको हो । सेन्सर बोर्डले आपत्ति जनाएको केहि सिन हेर्न तलको प्रोमोमा क्लिक गर्नुहोला !