बिनिता बराल सुटुक्क अर्को चलचित्रमा काम गर्दै !


बिनिता बराल अभिनित दोस्रो सिनेमा ‘फुलस्टप’ ले सोचे अनुरुप तहल्का पिट्न नसकेपछि उनी सिनेमा उद्योगबाट गुमनाम भएको चर्चा चलेको थियो । तर बजारमा हल्ला चले विपरीत बिनिताले अर्को एक प्रोजेक्टमा गोप्य रुपमा काम गरिरहेको रहस्य खुल्न आएको छ । मेरो सिनेमालाई प्राप्त जानकारी अनुसार बिनिता एक अन टाईटल प्रोजेक्टमा विगत एक महिनादेखी व्यस्त छिन् । उक्त प्रोजेक्टको कथा पनि स्वयंम बिनिताले नै लेखेकी हुन् ।

निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रुपमा निर्देशन गरिरहेको उक्त प्रोजेक्टमा बिनिता लिड क्यारेक्टरमा प्रस्तुत भएकीछिन । उनको साथमा अन्य नयाँ कलाकारहरुले अभिनय गरीरहे पनि उनीहरुको नाम भने खुलाइएको छैन । एक्सपेरिमेन्टल सिनेमा भनिएको उक्त प्रोजेक्ट गोप्य राख्नुबारे बिनिता भन्छिन् , ‘हामी सबै काम सकिए पश्चात मात्र प्रोजेक्टबारे बोल्न चाहान्थ्यौं ।’ त्यस्तै निर्देशक निरञ्जन पाण्डेले पनि काम गोप्य रुपमा नै गर्न चाहेको बताए । केही दिन पश्चात सुटिङ प्याकअप हुने बताइएको यस प्रोजेक्टमा रुपन पौडेल र निरज कंडेलले संयुक्त रुपमा क्यामेरा चलाइरहेका छन् । सुरेश राईको संगीत र सूर्य थोकरको द्धन्द्ध निर्देशन रहेको यो सिनेमाको हाल काठमाडौका केही स्थान, चिसापनी र चित्लाङमा सुट भइरहेको छ । ५० लाख बजेट बताइएको यो सिनेमा वैशाखमा रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ ।

अर्कोतर्फ निर्देशक निरन्जन पाण्डे र सौरभ ढकालले नै संयुक्त रुपमा निर्देशन गर्ने भनिएको सिनेमा धुँवा भने अहिलेसम्म फ्लोरमा जान सकेको छैन । नायक सुमन सिंह र नायिका प्रियंका कार्कीको कारण देखाउदै उक्त सिनेमाको सुटिङ सुरु हुन नसकेको निर्देशकद्धवले बताउदै आएका थिए । हाल दुवै निर्देशक अर्को प्रोजेक्टमा व्यस्त भएकाले धुँवा कहिलेदेखि सुरु हुन्छ अहिलेसम्म टुङ्गो लागि सकेको छैन ।