नेपाल कै विद्यालयमा पढाइन्छ गौतम बुद्ध भारतमा जन्मे भनेर


७ पुस, काठमाण्डौं । नेपालकै विद्यालयमा गौतम बुद्ध भारतमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने भन्दै पठनपाठन गराईएको खुलासा भएको छ । गौतम बुद्ध भारतमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने मिथ्या लेखिएको पाठ्यपुस्तक ललितपुरको धोबीघाटस्थित डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विदालयमा अध्यापन गराइएको हो ।

सो विद्यालयको कक्षा ६ को ‘इन्टि्रगेटेड सोसियल साइन्स’ विषयको पाठ्यपुस्तकमा समाविष्ट ‘ग्रोथ अफ न्यु आइडियाज’ शीर्षक पाठमा गौतम बुद्ध भारतीय भएको मिथ्या कुरा लेखिएको छ । सो पुस्तकको पृष्ठ ४५ मा २५ सय बर्षअघि भारतमा दुई महान हस्ती गौतम बुद्ध र महावीर जन्मिएको उल्लेख छ । पुस्तकमा लुम्बिनी भारतमा रहेको पनि भनिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।

सोही विद्यालयमा कक्षा २ मा पठनपाठन भइरहेको ‘माई विग बुक सोसियल स्टडिज’ विषयको पाठ्यपुस्तकमा पनि ‘हामीहरुको महान मुलुक भारत भएको, राष्ट्रिय झन्डा तिरंगा, राष्ट्रिय गान जन गन मन…, राष्ट्रिय जनावर बाघ’ लगायतका कुरा उल्लेख गरिएको छ ।